जातीय विभेदको आरोप लागेका जनप्रतिनिधिसहित तीन जना धरौटीमा रिहा
मुद्दामा जाहेरीकर्ताका तर्फबाट अधिवक्ताहरू शिव सुनार, कुञ्जनी परियार प्यासी र जिल्ला सहायक न्यायाधिवक्ता वसन्त अर्यालले बहस

पोखरा महानगरपालिका–१४ को वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधिसहित तीन जना धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतले मंगलबार तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले कार्यालय सहयोगी अम्बिका क्षेत्री भण्डारीलाई एक लाख ५० हजार, वडा सदस्य कृष्णहरि काफ्लेलाई एक लाख र अर्की कार्यालय सहयोगी देवी विकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । पोखरा–१४ को वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गंगा विकले सोह्र श्राद्धका बेला जातीय आधारमा आफूलाई भान्सामा प्रवेश गर्न, चिया तथा खाना पकाउन र पानी दिनसमेत रोक लगाइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । विकले असोज २२ गते दिएको जाहेरीमा असोज १२ गतेदेखि सोह्र श्राद्धको समयमा भान्सामा प्रवेश नगर्न र भान्सासम्बन्धी काम नगर्न भनिएको उल्लेख गरेकी छन्। यस्तो निर्देशन तत्कालीन कार्यवाहक वडाध्यक्ष कृष्णहरि काफ्लेलगायतबाट आएको जवाफ आफूले पाएको उनको दाबी छ । यस मुद्दामा जाहेरीकर्ताका तर्फबाट अधिवक्ताहरू शिव सुनार, कुञ्जनी परियार प्यासी र जिल्ला सहायक न्यायाधिवक्ता वसन्त अर्यालले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट अधिवक्ता कमल अर्याललगायतले बहस गरेका थिए । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद तथा छुवाछूत दण्डनीय कसुर हो। कसुर प्रमाणित भएमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसुर गरेमा थप ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान रहेको छ ।