नेपाल–भारत सम्बन्ध पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सक्ने बताउनुभयो ।
उहाँले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन र सांस्कृतिक विविधता भारतीय पर्यटकका लागि प्रमुख आकर्षण बन्न सक्ने उल्लेख गर्नुभयो ।
पर्यटन प्रवर्द्धनका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार र सहज आवागमन आवश्यक रहेको उहाँको भनाइ छ ।
यसैक्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुसँग शिष्टाचार भेटवार्ता गर्दै दुई देशबीचको हवाई उड्डयन क्षेत्रको विकास र सहकार्य विस्तारबारे छलफल गर्नुभएको छ ।