Breaking
Sports

दसौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

2 days ago • B.S. 2083 Mangsir 04Sports
10 rastrita helkud.jpg

पोखरा । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी र प्रगतिबारे जानकारी दिँदै ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जनाएको हो।

आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना गरिनेछ।

प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

राखेपका अनुसार प्रत्येक टोलीबाट ३१४ महिला र ३४६ पुरुष गरी ६६० खेलाडी सहभागी हुनेछन्। त्यसैगरी प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहने व्यवस्था गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि एक हजार ३० जना निर्णायक परिचालन गरिनेछ। तीमध्ये २५८ जना अन्तर्राष्ट्रिय र ७७२ जना राष्ट्रिय निर्णायक रहनेछन्। विभिन्न खेल संघका ९६ प्रतिनिधिको समेत सहभागिता रहने राखेपले जनाएको छ।

यसपटक प्रतियोगिताका खेल कर्णाली प्रदेशका विभिन्न जिल्लासहित आसपासका क्षेत्रमा पनि सञ्चालन गरिनेछन्। सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने नेपालगन्ज र बर्दियामा दुई–दुई, दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन्।

दसौँ राष्ट्रिय खेलकुदलाई थप प्रतिस्पर्धात्मक बनाउन राखेपले पदक विजेता खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, टिम स्पर्धामा स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई आठ हजार रुपैयाँ प्रदान गरिनेछ।

यसअघि स्वर्ण पदक विजेतालाई मात्र नगद पुरस्कार दिने व्यवस्था रहेकामा यसपटक रजत र कांस्य पदक विजेतालाई समेत पुरस्कार दिने निर्णय गरिएको राखेपले जनाएको छ।

प्रतियोगिताको तयारी तथा प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो।

पटक–पटक मिति सर्दै आएको प्रतियोगिताको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले २०८३ साउन २८ गते निर्धारण गरेको थियो।