गृहमन्त्रीकी आमा दाबी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार सर्विन बोगटी पक्राउ

गृहमन्त्री सुधन गुरुङकी आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने कलाकार सर्विन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अपराह्न भक्तपुरको सूर्यविनायकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूहरू इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिङ्कका कर्मचारी भएको बताउँदै घर पुगेका सादा पोसाकका प्रहरीले बोगटीलाई पक्राउ गरेको परिवारजनले बताएका छन् ।
हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले पुष्टि गरेका छन् ।
बोगटीलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताइएको छ । उनले सोमबार आफ्नो फेसबुक पेजमार्फत गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो सार्वजनिक गरेका थिए ।
कालिकोट स्थायी घर भएका बोगटी पूर्वजनमुक्ति सेना समेत हुन् । उनी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । उनी गायक तथा संगीतकारका रूपमा परिचित छन् ।