Breaking
Society

पोखराको खपौदीदेखि प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रसम्म फेवाताल किनारमा बृहत् सरसफाइ

3 days ago • B.S. 2083 Mangsir 03Society
pkr sarsafai 1.jpg

पोखराको फेवाताल किनारमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित खपौदी प्रतीक्षालयदेखि प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्रसम्म बिहीबार बिहान सरसफाइ गरिएको हो ।

नागरिक समाज कास्कीको अगुवाइ, पोखरा महानगरपालिकाको आयोजना तथा फेवाताल आश्रित जलारी समुदाय हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।

सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीसहित प्रहरी टोली, महानगरपालिकाको सरसफाइ शाखा, स्थानीय क्लब, आमा समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

सरसफाइसँगै महाअभियानले फिर्के खोला फेवातालमा मिसिने स्थान गाईघाटमा निर्माणाधीन अस्थायी चेकड्याममा अनियमितता भएको भन्दै ध्यानाकर्षण गराएको छ । साथै ताल संरक्षणमा पर्यटन व्यवसायी र जनप्रतिनिधिको पर्याप्त चासो नदेखिएकोप्रति पनि महाअभियानले असन्तुष्टि जनाएको छ ।

नागरिक समाज पोखराले विगत पाँच वर्षदेखि फेवाताल सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएको छ । यसअघि साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको अभियान अहिले हरेक महिनाको ३ गते जलारी समुदायसँगको समन्वयमा सञ्चालन हुँदै आएको संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

ताल सरसफाइसँगै नदी तथा खोलाको मापदण्ड कार्यान्वयनका लागि समेत नागरिक समाजले निरन्तर खबरदारी गर्दै आएको जनाएको छ ।