चितवनमा धान उत्पादन ८ प्रतिशतले वृद्धि

चितवन । चितवनमा यस वर्ष धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ। धानखेती गरिएको क्षेत्रफल घटे पनि अनुकूल मौसम, रोगको सङ्क्रमण कम र समयमै मल उपलब्ध भएका कारण उत्पादन बढेको हो।
जिल्ला कृषि विकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष ५६ हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको थियो। धानखेती हुने केही जमिनमा सुन्तला, कागती तथा तरकारीखेती गर्न थालिएकाले धानखेतीको क्षेत्रफल घटेको उनले बताए।
गत वर्ष जिल्लामा २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। यस वर्ष भने २७ हजार २६८ हेक्टरमा मात्र धानखेती गरिएको छ।
कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष एक लाख ३५ हजार ५७६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिक टन उत्पादन भएको छ।
यस वर्ष धानखेतीका लागि मौसम अनुकूल रहनु, रोगको सङ्क्रमण कम हुनु, किसानले समयमै मल पाउनु र बाली समयमै भित्र्याउन सक्नुले उत्पादनमा वृद्धि भएको अर्थविज्ञ पौडेलले जानकारी दिए।
जिल्लामा सावा मन्सुली, राम, सावित्री, हर्दिनाथ–५, सावा सब–१, गंगोत्री, ताइचुङ, हर्दिनाथ–६, काँशीनाथ, मक्कावाला, कुवेर, कावेरी, गोरखनाथ र एमपीआर–५०५ लगायतका जातका धानखेती गरिएको थियो।