५४ दिनमा पोखरा–दुबई उडानबाट १४ हजारभन्दा बढी यात्रुले गरे यात्रा

फ्लाई दुबईको पोखरा–दुबई नियमित उडानमार्फत ५४ दिनको अवधिमा १४ हजार २ सय ६९ यात्रुले यात्रा गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म दुबईबाट पोखरा ८ हजार ७ सय ५६ यात्रु आएका छन् भने पोखराबाट दुबई ५ हजार ५ सय १३ यात्रु बाहिरिएका छन्।
यस अवधिमा पोखरा आउने यात्रुको संख्या दुबई जानेभन्दा ३ हजार २ सय ४३ ले बढी देखिएको छ। यसले पोखरा–दुबई उडानमा बाहिरिनेभन्दा भित्रिने यात्रुको चाप बढी रहेको देखाउँछ।
मौसम प्रतिकूलताका कारण सेप्टेम्बर २५ मा एक दिन उडान रद्द भए पनि अन्य ५३ दिन नियमित उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई दुबईसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडेको छ। यसबाट पोखरामा पर्यटकको आवागमन बढ्नुका साथै पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।