पोखराको तुलसीघाटमा तोरण र फूल नदी तार्दै मनाइयो हरिबोधिनी एकादशी

पोखरा । हरिबोधिनी एकादशी पर्व पोखराको तुलसीघाटमा धार्मिक विधिअनुसार मनाइएको छ। पर्वका अवसरमा विभिन्न स्थानबाट आएका भक्तजनले तोरण तथा फूल नदी तारेर चढाउँदै पूजा गरेका छन्।
हरिबोधिनी एकादशीका अवसरमा बिहानैदेखि तुलसीघाटमा भक्तजनको उपस्थिति रहेको थियो। विभिन्न स्थानबाट तोरण र फूल लिएर घाट पुगेका श्रद्धालुले धार्मिक विधिअनुसार नदी तारेर चढाएका थिए।
यस अवसरमा पोखरा–७ घारीपाटनस्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्यहरू पनि तोरणसहित तुलसीघाट पुगेका थिए। उनीहरूले समेत नदी तारेर तोरण तथा फूल चढाउँदै पूजामा सहभागिता जनाएका थिए।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ। त्यसैले यस दिनलाई हरिबोधिनी एकादशी अर्थात् भगवान् हरि जाग्ने दिनका रूपमा मनाउने परम्परा छ।
हरिबोधिनी एकादशीमा तुलसीको विवाह भगवान् दामोदरसँग गराउने, विष्णुको विशेष पूजा गर्ने, व्रत बस्ने तथा तोरण र फूल चढाउने धार्मिक प्रचलन रहेको छ। ठूलो एकादशीका नामले समेत चिनिने यस पर्वमा देशका विभिन्न नदी, घाट तथा नारायणका मन्दिरमा भक्तजनको उपस्थिति रहने गर्दछ।
धार्मिक विश्वासअनुसार यस दिन व्रत, पूजा, दान तथा जप गर्नाले पुण्य प्राप्त हुने मान्यता रहेको छ।