Breaking
Sports

पोखरामा पहिलोपटक प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालन

2 days ago • B.S. 2083 Mangsir 04Sports
Paralaiding.jpg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचेडाँडामा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि स्वदेशमै दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक प्रशिक्षण केन्द्र स्थापना गरिएको हो।

एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा बिहीबारदेखि प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो। अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ खेलाडी विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको संयुक्त एक करोड ५० लाख रुपैयाँ लगानीमा केन्द्र स्थापना गरिएको हो। थप पूर्वाधार निर्माणका लागि लगानी बढाइने सञ्चालकले जनाएका छन्।

केन्द्रका सञ्चालक विजय गौतमका अनुसार समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडाबाट उडान भरी मर्दीखोला किनारको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।

प्रशिक्षण केन्द्रबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासहित लाहाचोक, ल्वाङ, अस्ताम तथा पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ। केन्द्रले प्रारम्भिक १५ दिने तालिमका साथै इन्टरमिडियट, क्रस कन्ट्री र टेन्डमका टी–वान तथा टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ। एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

सञ्चालक गौतमले प्रशिक्षण केन्द्र स्थापनाले दक्ष प्यारापाइलट उत्पादनमा सहयोग पुग्ने र आगामी दिनमा व्यावसायिक उडानका लागि समेत आधार तयार हुने बताए।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा हाल ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। लाइसेन्स प्राप्त ४०० पाइलटमध्ये २५० जना कार्यरत रहेको उनले जानकारी दिए। उनका अनुसार प्रशिक्षण केन्द्र सञ्चालनले स्वदेशी जनशक्ति उत्पादनसँगै विदेशी पर्यटकलाई समेत तालिमका लागि आकर्षित गर्न सक्नेछ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले रिभानलाई सराङकोटपछि प्याराग्लाइडिङको अर्को गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। उनले आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्रले रिभान क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय पूर्वाधार, सडक तथा पदमार्गको स्तरोन्नतिमा पनि जोड दिएका छन्।

पोखराबाट जीपमा करिब एक घण्टाको यात्रापछि लाहाचोकको पातीखोला हुँदै मैँचेडाँडा पुग्न सकिन्छ।