Breaking
Sports

पोखरा रात्रिकालीन सडक दौडका लागि वडा नम्बर ९ ले ५ लाख रुपैयाँ विनियोजन गर्ने

2 days ago • B.S. 2083 Mangsir 03Sports

पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरपोइन्ट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा र महेन्द्रपुल हुँदै वडा नम्बर ९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा पुगेर समापन हुने

Ratri kalin.png

पोखराको पर्यटन प्रवद्र्धन र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी पुस १० गते शुक्रबार आयोजना हुने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नम्बर ९ ले सहयोग गर्ने भएको छ ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका लागि वडा नम्बर ९ ले आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतियोगिताका लागि वडाले चालु आर्थिक वर्षको बजेटमा पाँच लाख रुपैयाँसमेत विनियोजन गरेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिनुभयो ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु रहेको छ । रातको समयमा पनि पोखराका सडक सुरक्षित र पर्यटकमैत्री छन् भन्ने सन्देश प्रवाह गर्दै रात्रिकालीन पर्यटनको सम्भावना उजागर गर्ने लक्ष्य आयोजकको छ ।

पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरपोइन्ट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा र महेन्द्रपुल हुँदै वडा नम्बर ९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा खुला, महिला, विद्यार्थी, विदेशी र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । यस वर्षदेखि भेट्रान्स विधा थप गरिएको छ भने पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा नर्वे, थाइल्यान्ड, फ्रान्स र इङ्गल्यान्डसहित पाँच देशका एक सय ४५ जना धावक सहभागी भएका थिए । यस वर्ष सहभागी संख्या थप बढ्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताका विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दौड पूरा गर्ने सबै सहभागीलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।