Breaking
Society

मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

18 days ago • B.S. 2083 Kartik 18Society
Ghus pakrau.png

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयको मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको आरोप छ।

अख्तियारको टोलीले सेवाग्राहीबाट माग गरिएको रकम लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ।