Breaking
Society

रत्न मन्दिर र हिमागृह लिजमा दिने तयारीप्रति जिसस कास्कीको आपत्ति

9 days ago • B.S. 2083 Kartik 27Society

सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्नुको सट्टा अतिक्रमण गर्ने, भाडा वा लिजमा दिने जस्ता कार्यप्रति समितिले गम्भीर ध्यानाकर्षण

Ratna mandir.png

पोखरा। नेपाल ट्रस्टको नाममा रहेको पोखराको बाराहीघाटस्थित जग्गा, रत्न मन्दिर र हिमागृह ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति (जिसस) कास्कीले आपत्ति जनाएको छ। ऐतिहासिक तथा प्राकृतिक सम्पदाका रूपमा रहेका ती जग्गा फेवातालको मापदण्डभित्र समेत पर्ने भएकाले लिजमा नदिन जिससले आग्रह गरेको हो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न ५४औँ बैठकले उक्त निर्णय गरेको हो। बैठकले पोखरा महानगरपालिकासहित कास्की जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको ठहर गरेको छ।

सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्नुको सट्टा अतिक्रमण गर्ने, भाडा वा लिजमा दिने जस्ता कार्यप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेका जग्गा र सम्पदाको उचित संरक्षण तथा व्यवस्थापनका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति प्रमुख पौडेलले जानकारी दिनुभयो।

यसैबीच, बैठकले जिल्ला समन्वय समिति कास्कीको पछिल्लो पाँच वर्षको कार्यकालमा भएका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। जिसस अधिकारी नवराज बरालले बैठकका निर्णयबारे जानकारी दिनुभएको हो।