Breaking
Article

सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त

9 days ago • B.S. 2083 Kartik 27
Sarwochha adalat.jpg

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो।

यसअघि न्याय परिषद्को गत असोज २० गते बसेको बैठकले चारै जनाको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले उनीहरूविरुद्ध उजुरी आह्वान गरी सुनुवाइ प्रक्रिया अघि बढाएको थियो।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपति कार्यालयले औपचारिक रूपमा नियुक्ति गरेको हो।

चार जना नयाँ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्च अदालतमा रिक्त पदपूर्ति भएको छ। यसबाट अदालतको न्याय सम्पादन प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।