Breaking
World News

बेलायतमा आप्रवासीलाई स्थायी बसोबास पाउन सामान्यतया १० वर्ष कुर्नुपर्ने

19 days ago • B.S. 2083 Kartik 17World News

अनधिकृत माध्यमबाट बेलायत प्रवेश गर्नेहरूका हकमा स्थायी बसोबास पाउने अवधि ३० वर्षसम्म पुग्न सक्ने मन्त्रालयले जनाए

Belayat.png

लन्डन। बेलायतमा आप्रवासीले स्थायी बसोबासको अनुमति पाउन अब सामान्यतया १० वर्ष कुर्नुपर्ने भएको छ। यसअघि पाँच वर्षपछि स्थायी बसोबास पाउने व्यवस्था रहेकामा सरकारले योगदान र आचरणका आधारमा अनुमति दिने नयाँ नियम ल्याएको हो।

बेलायतको गृह मन्त्रालयले नोभेम्बर २ मा जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा बढी आम्दानी गर्ने आप्रवासीले तीन वर्षमै स्थायी बसोबास पाउन सक्नेछन्। वार्षिक ५० हजार २७१ पाउन्डभन्दा बढी कमाउने तथा चिकित्सक, नर्स र शिक्षकजस्ता केही सार्वजनिक सेवा क्षेत्रमा कार्यरत व्यक्तिले पाँच वर्षपछि अनुमति पाउनेछन्। अन्य आप्रवासीका लागि भने सामान्य अवधि १० वर्ष तोकिएको छ।

आप्रवासनसम्बन्धी नियम उल्लंघन गर्नेहरूले कम्तीमा २० वर्ष कुर्नुपर्नेछ। स्थायी बसोबासका लागि आवेदन दिने सबैले आपराधिक अभिलेख नहुनु, उच्च स्तरको अंग्रेजी भाषा बोल्न सक्नु, सरकारलाई तिर्नुपर्ने ऋण वा बक्यौता बाँकी नराख्नु र राष्ट्रिय बीमा योजनामा निरन्तर योगदान गरेको अभिलेख देखाउनुपर्नेछ।

कोभिड महामारीका बेला बेलायतको हेरचाह क्षेत्रमा योगदान गरेका कामदारका लागि भने छुट्टै व्यवस्था गरिएको छ। भिसाका सर्त पूरा गरेका र वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने त्यस्ता कामदारले पाँच वर्षपछि नै स्थायी बसोबास पाउन सक्नेछन्। पाँच वर्षमा योग्य नहुने हेरचाह क्षेत्रका करिब एक चौथाइ कामदारलाई थप पाँच वर्षको भिसा दिइनेछ।

शरणार्थीका हकमा पनि नयाँ व्यवस्था लागू हुनेछ। गृह मन्त्रालयले स्वीकृत गरेका मार्गबाट बेलायत पुगेका शरणार्थीले पाँच वर्षपछि स्थायी बसोबास पाउन सक्नेछन् भने अन्य मार्गबाट आएका शरणार्थीले २० वर्ष कुर्नुपर्नेछ। काम वा अध्ययन गर्ने शरणार्थीका लागि भने यो अवधि १० वर्ष कायम गरिएको छ। अनधिकृत माध्यमबाट बेलायत प्रवेश गर्नेहरूका हकमा स्थायी बसोबास पाउने अवधि ३० वर्षसम्म पुग्न सक्ने मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाका कारण पाँच लाखभन्दा बढी व्यक्तिले पाँच वर्षभन्दा लामो समय स्थायी बसोबासका लागि कुर्नुपर्ने सरकारको अनुमान छ। यसबाट कल्याणकारी सेवामा हुने खर्चमा अर्बौं पाउन्ड कटौती हुने अपेक्षा गरिएको छ। यसअघि नै स्थायी बसोबासको अधिकार पाइसकेका व्यक्तिका हकमा भने नयाँ नियम लागू हुने छैन।