गण्डकी पीएम कप महिला टी–२० छनोटमा कास्कीको फराकिलो जित

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगितामा कास्की जिल्ला महिला टोलीले बागलुङलाई ८९ रनले पराजित गरेको छ ।
आइतबार भएको खेलमा टस जितेर बागलुङकी कप्तान समरचना गिसी तामाङले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
कास्कीका लागि चन्द्रामाया बरालले सर्वाधिक ४१ रन बनाइन् । उनले ३४ बलमा ४ चौका प्रहार गरिन् । कप्तान सिर्जना पौडेलले २५ र रेखा तामाङले १३ रनको योगदान दिइन् । बागलुङकी अनुजा सुनारले ३ तथा समरचना गिसी तामाङले २ विकेट लिइन् ।
१५० रनको लक्ष्य पछ्याएको बागलुङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । बागलुङका लागि अनुजा सुनारले सर्वाधिक १० रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कास्कीकी सिमाना रेग्मीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिइन् । सुशीला डिम्डुङ तामाङले ४ ओभरमा ११ रन दिँदै २ विकेट हात पारिन् ।
ब्याटिङमा चन्द्रामाया बराल र बलिङमा सिमाना रेग्मीको उत्कृष्ट प्रदर्शनसँगै कास्कीले प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको हो ।