पोखराको लेकसाइडमा ‘अपरेसन सभ्यता’, २१ जना पक्राउ

पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ। अभियानका क्रममा २१ जना पक्राउ पर्नुका साथै २७ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । लेकसाइड क्षेत्रमा झैझगडा गर्ने, पर्यटकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई लक्षित गरी प्रहरीले बुधबार रातिदेखि विशेष अभियान चलाएको हो । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राति १ बजेदेखि बिहान ५ बजेसम्म गरेको कारबाहीमा झण्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित गतिविधिमा संलग्न ६ जना र झैझगडा तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यसैगरी, २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । आउँदै गरेका चाडपर्वलाई सुरक्षित र सभ्य बनाउँदै पर्यटक तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताएका छन्।