Breaking
Society

भीमफेदी दुर्घटनाप्रति सरकारद्वारा दुःख व्यक्त, छानबिन समिति गठन

9 days ago • B.S. 2083 Kartik 27Society

सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार

bhimphedi.jpg

काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएपछि सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार बिहान भएको दुर्घटनाप्रति शोक व्यक्त गर्दै सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो।

काठमाडौँ–सर्लाही रुटमा सञ्चालन भएको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ।

सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।

सरकारले पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।