इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख जरिबाना

पोखरा । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका निलम्बित मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।
कास्की जिल्ला अदालतले नेपालीलाई ८ वर्ष कैदसँगै १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना र बिगो असुल गर्ने फैसला गरेको हो ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते नेपालीसहित सात जनालाई कैद, जरिबाना र बिगो असुलउपर गर्ने फैसला सुनाएको हो । २०८२ कात्तिक २५ गते दायर भएको पूरक अभियोगपत्रमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो ।
अदालतले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद तथा १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकेको छ । त्यस्तै, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र सोही बराबरको जरिबाना सुनाइएको छ । सातै जना प्रतिवादीबाट बिगोसमेत असुल गर्ने आदेश भएको छ ।
यस मुद्दामा प्रतिवादी बनाइएका १५ जनामध्ये आठ जना अझै फरार रहेको जनाइएको छ ।
सुरुमा २०८० भदौ १२ गते ५२४ जना बचतकर्ताको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबीसहित १५ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । पछि पाँच किस्तामा ४०० जना बचतकर्तासँग मिलापत्र भएपछि बाँकी ११० जनाको जाहेरीका आधारमा करिब १८ करोड रुपैयाँ बिगो मागदाबीसहित पूरक अभियोगपत्र दायर गरिएको थियो ।
नेपालीले पोखरा र बागलुङमा इमेज सहकारी स्थापना गरेका थिए । अनुसन्धानका क्रममा उनको नेतृत्वमा सञ्चालित दुवै सहकारीबाट करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको खुलेको थियो ।
बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि नेपाली १६ महिनासम्म फरार रहेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि उनी बागलुङ जिल्ला अदालतको आदेशमा बागलुङ कारागारमा थुनामा रहेका छन् ।
यसैबीच, नेपालीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित अर्को छुट्टै ठगी मुद्दा पनि विचाराधीन रहेको छ । उक्त मुद्दामा सहकारीको उपाध्यक्ष रहँदा ७७ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खातामा सारेको आरोप लगाइएको छ । सोही मुद्दामा कास्की जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।