Breaking
Society

चाडपर्वको चटारोमा कुम्हाल, बिहान ३ बजेदेखि मध्यरातसम्म माटोसँगै संघर्ष!

17 days ago • B.S. 2083 Kartik 19Society, Amazing news
MAtp bhada3.png

दीपावली र छठ पर्व नजिकिएसँगै मिथिलाञ्चलमा चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको भीड बढिरहेका बेला जनकपुरधाम–२४, बसहियाका कुम्हाल समुदायलाई भने माटोका परम्परागत सामग्री बनाउन भ्याइनभ्याइ छ। चाडपर्वमा प्रयोग हुने दियो, कलश, ढकना, कुरवार र माटोका हात्ती बनाउन यहाँका कुम्हाल परिवार बिहानदेखि रातिसम्म व्यस्त बनेका छन्।

बसहियाका करिब ४० कुम्हाल परिवारका लागि दीपावली र छठ आम्दानीको मुख्य अवसर हो। अन्य समयमा माटोका सामग्रीको माग कम हुने भए पनि चाडपर्व नजिकिएसँगै माग बढ्ने भएकाले परिवारका सबै सदस्य उत्पादनमा जुटेका छन्।

यसैमध्येका ५५ वर्षीय सुन्देश्वर पण्डित पुस्तौँदेखि माटोका सामग्री बनाउँदै आएका छन्। उनले पछिल्लो पाँच वर्षदेखि यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन्। चौरचन पर्व सकिएलगत्तै उनी दीपावली र छठका लागि आवश्यक सामग्री बनाउन व्यस्त भएका हुन्।

सुन्देश्वरको दिनचर्या बिहान ३ बजेदेखि सुरु हुन्छ। माटो तयार पार्ने, मुछ्ने र त्यसपछि चक्रमा राखेर विभिन्न सामग्रीको आकार दिने उनको दैनिकी बनेको छ। बिहान ७ बजेदेखि माटोका भाँडाकुँडा बनाउन सुरु गर्ने उनी अहिले आफ्नो घरको दुईतले छतलाई नै उत्पादनस्थलका रूपमा प्रयोग गरिरहेका छन्। पहिले हातैले चक्र घुमाउनुपर्ने भए पनि अहिले विद्युतबाट चल्ने प्रविधि प्रयोग गर्न थालेपछि काम केही सहज भएको उनको अनुभव छ।

उनको काममा कान्छा छोरा रमण र छोरीले पनि सघाउँदै आएका छन्। कक्षा १० सम्म अध्ययन गरेका रमणले अहिले बुवाको पुर्ख्यौली पेसालाई नै रोजगारी बनाएका छन्। चाडपर्वको समयमा माग बढी हुने भएकाले उनी बिहान ३ बजेदेखि राति १२ बजेसम्म काममा खटिने गरेका छन्।

यस वर्ष दीपावली र छठलाई लक्षित गरी सुन्देश्वरको परिवारले ५० हजारभन्दा बढी दियो, ३०० थान कुरवार, ३०० थान माटोका हात्ती, ३०० देखि ४०० थान ढकना र २०० थान कलश तयार पारिसकेको छ। गत वर्षको तुलनामा यसपालि व्यापार बढ्ने अपेक्षा गरे पनि बजारको अवस्था कस्तो हुने भन्ने चिन्ता उनीहरूमा छ।

पछिल्लो समय विद्युतीय बत्ती तथा पित्तल र काँसका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटोका सामग्रीको बजार खुम्चिँदै गएको रमण बताउँछन्। गत वर्ष चाडपर्व लक्षित सामग्री बिक्रीबाट करिब तीन लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष अहिलेसम्म ५० देखि ६० हजार रुपैयाँ बराबरको व्यापार भइसकेको उनले जानकारी दिएका छन्।

चाडपर्वमा हुने बिक्रीले मात्रै वर्षभरि परिवारको गुजारा चलाउन कठिन हुने सुन्देश्वरको भनाइ छ। नियमित बजार र आम्दानीको सुनिश्चितता नहुँदा पुर्ख्यौली सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत चुनौती थपिएको उनको चिन्ता छ।

मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका माटाका दियो, कलश र पूजाका सामग्री केवल व्यापारका वस्तु मात्र होइनन्, मौलिक पहिचान र पुस्तौँदेखिको सीपका प्रतीक पनि हुन्। आधुनिकतासँगै मानिसको रोजाइ बदलिँदै गए पनि बसहियाका कुम्हाल परिवार भने पुर्खाले सिकाएको सीप जोगाउँदै परम्परालाई निरन्तरता दिने प्रयासमा छन्।