Breaking
Society

मुगुमा १० शय्याको अस्पताल सञ्चालनमा, सडक अभावले सेवा लिनै कठिन

6 days ago • B.S. 2083 Kartik 30Society

गाउँपालिकामा आधारभूत अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य शाखाले गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस क्रममा औषधिको सही प्रयोग, मात्रा र म्यादबारे समेत नागरिकलाई जानकारी दिने गरिएको छ ।

mugumhospital3.jpg

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ अवधारणाअनुसार निर्माण गरिएको अस्पताल सञ्चालनमा आए पनि सडक सञ्जालको अभावमा स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

१० करोड २४ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको अस्पतालको कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गरेका हुन् । हाल अस्पतालमा एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत छन् । तर, स्थायी दरबन्दी र दक्ष जनशक्तिको व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुम कार्मारोङ गाउँपालिकाका नौवटै वडामा मोटरबाटो पुगेको छैन । एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । कतिपय बस्तीबाट अस्पताल पुग्नै एकदेखि दुई दिन लाग्ने भएकाले बिरामीलाई समयमै उपचारका लागि ल्याउन कठिन हुने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाले बताए ।

गाउँपालिकाको केन्द्रसम्म सडक पुर्‍याउने उद्देश्यले अघि बढाइएको गमगढी–नाक्चेनाग्ला सडक निर्माणले पनि अपेक्षित गति लिन सकेको छैन । ९३ किलोमिटर लामो सडकमा एक दशकभन्दा बढी समय बितिसक्दा करिब १८ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । सडक अभावमा औषधि, स्वास्थ्य उपकरण तथा अन्य सामग्री मानिस र खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ ।

भौगोलिक विकटतासँगै स्वास्थ्य सचेतनाको कमी र परम्परागत उपचार पद्धतिप्रतिको विश्वासले पनि स्वास्थ्य सेवामा पहुँच प्रभावित भएको छ । कतिपय स्थानीय बिरामी हुँदा स्वास्थ्य संस्थाभन्दा धामीझाँक्री र लामाको भर पर्ने तथा रोग जटिल भएपछि मात्रै उपचारका लागि पुग्ने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए ।

गाउँपालिकामा आधारभूत अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य शाखाले गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस क्रममा औषधिको सही प्रयोग, मात्रा र म्यादबारे समेत नागरिकलाई जानकारी दिने गरिएको छ ।

अस्पताल उद्घाटनका क्रममा मुख्यमन्त्री शाहीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अस्पताल भवन निर्माणसँगै यसको सञ्चालन र व्यवस्थापनमा प्रदेश तथा स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

दुर्गम बस्तीका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल भवन निर्माणसँगै सडक पहुँच, दक्ष जनशक्ति, आवश्यक उपकरण र स्वास्थ्य सचेतनामा समेत ध्यान दिनुपर्ने देखिएको छ ।