देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ देखि, उद्घाटन देउवाले गर्ने

धनगढी । नेपाली कांग्रेसको देउवा समूहले सुदूरपश्चिम प्रदेश अधिवेशन आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।
प्रदेश सभापति वीरबहादुर बलायरका अनुसार अधिवेशन कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना हुनेछ । मंसिर १५ गते बिहान ११ बजे उद्घाटन समारोह सुरु हुने कार्यक्रम तय भएको छ ।
यसअघि सभापति बलायरले विज्ञप्ति जारी गर्दै प्रदेश अधिवेशनको मिति र स्थान सार्वजनिक गरेका थिए । विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख गरिएको छ ।
यसैबीच, देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ नियमित महाधिवेशन तयारी समिति गठन गरेको छ । समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।