Breaking
Society

छठ पर्व नजिकिएसँगै सिरहामा छठघाट सजाउने र सरसफाइ गर्ने काम तीव्र

9 days ago • B.S. 2083 Kartik 27Society

विभिन्न स्थानमा टेन्ट, पण्डाल तथा सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने तयारी

Chath 1.png

सिरहा। छठ पर्व आउन तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू घाट व्यवस्थापनमा जुटेका हुन्।

सिरहाको गोलबजार, चोहर्वा, निपनिया र नरहालगायतका क्षेत्रमा छठघाट सरसफाइ तथा सजावटको काम भइरहेको छ। निपनिया पोखरी, मैनाबती खोला र चोहर्वा पोखरीलगायतका जलाशय आसपासका क्षेत्रमा स्थानीयवासीले श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काम गरिरहेका छन्।

कतिपय स्थानमा कोदालो, खुर्पी र हँसियालगायतका सामग्री प्रयोग गरेर सरसफाइ भइरहेको छ भने केही ठाउँमा जेसीबीको सहायताले घाट सम्याउने काम भइरहेको छ। विभिन्न स्थानमा टेन्ट, पण्डाल तथा सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने तयारीसमेत गरिएको छ।

गोलबजार नगरपालिका–७ का स्थानीय दीपेन्द्र सिंहका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले केही दिनअघिदेखि नै स्थानीयवासी सरसफाइ तथा घाट व्यवस्थापनमा जुटेका हुन्।

स्थानीय अमितकुमार सिंहले छठ पर्वलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीयवासी एकजुट भएर तयारी गरिरहेको बताउनुभयो। घाट व्यवस्थापनका लागि जेसीबीदेखि हातले प्रयोग गरिने विभिन्न सामग्रीसमेत परिचालन गरिएको उहाँको भनाइ छ।

सूर्यदेव र छठी माताको उपासनासँग जोडिएको छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। यस क्रममा नदी, पोखरी तथा जलाशयका किनारमा भेला भएर श्रद्धालुहरूले विधिपूर्वक पूजाआजा गर्ने गर्छन्।

पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि सहरसम्म छठको रौनक बढ्दै गएको छ। स्थानीयवासीको सामूहिक प्रयास र श्रमदानले छठघाटहरू सफा, सुन्दर र व्यवस्थित बन्दै गएका छन्।