काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर सार्वजनिक भएका समाचारबारे निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा कुनै पूर्वाग्रह नराखी संविधान र कानुनबमोजिम छानबिन गर्न आग्रह गरेको हो ।
अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा छानबिनबाट प्राप्त निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
विभिन्न छापा तथा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर समाचार प्रकाशित तथा प्रसारित भएपछि पूर्ण बैठकको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । यसअघि प्रधानन्यायाधीश र सम्बन्धित न्यायाधीशहरूले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरिसकेको पनि अदालतले जनाएको छ ।
पूर्ण बैठकले समाचारका विषयमा हुने छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
अदालतले जनताको आस्था र विश्वाससँग जोडिएको संस्थाबारे प्रकाशित समाचारले आमनागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर पार्न नहुने जनाएको छ । साथै, समाचारबाट विचलित नभई नियमित न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायकर्मीलाई आग्रह गरेको छ ।