Breaking
Music

पोखरामा ‘सुरताल म्युजिकल टुर–२०८३’ हुँदै, प्रकाश सपूत र प्रमोद खरेलको प्रस्तुति रहने

6 days ago • B.S. 2083 Kartik 30Music
Surtal (1).jpg

पोखरामा नेपाली संगीतका चर्चित कलाकारहरूको सहभागितामा ‘सुरताल म्युजिकल टुर–२०८३’ आयोजना हुने भएको छ ।

टाइम्स मिडिया हाउस प्रालिको आयोजना तथा सुरताल इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको सह–आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रम आगामी पुस ८ गते पोखराको अमरसिंह खेल मैदान, अमरसिंह चोकमा सञ्चालन हुनेछ ।

‘अब गुञ्जिनेछ नेपाल एउटै सुर, एउटै ताल’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूत, चर्चित गायक प्रमोद खरेल तथा विभिन्न सांगीतिक समूहहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली संगीतप्रेमी दर्शकलाई एउटै मञ्चमा विविध सांगीतिक स्वाद प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपाली संगीत, कला र संस्कृतिलाई देशभर प्रवर्द्धन गर्ने लक्ष्यसहित सातै प्रदेशका १३ जिल्लामा सांगीतिक यात्रा सञ्चालन गर्ने अवधारणा आयोजकले अघि सारेको छ ।

यसैबीच, आयोजकले सांगीतिक कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई राहत तथा सहयोगका लागि कन्सर्टबाट खर्च कटाएर प्राप्त हुने आम्दानीको २० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि अपराह्न ४ बजे गेट खुला गरिनेछ भने साँझ ५ बजेदेखि राति १० बजेसम्म सांगीतिक प्रस्तुति सञ्चालन हुनेछ । टिकट ईसेवामार्फत उपलब्ध हुने जनाइएको छ । एक जनाका लागि तीन सय रुपैयाँ र दुई जनाका लागि पाँच सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।

आयोजकले पोखरेली दर्शक तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई सांगीतिक उत्सवको आनन्द लिन आग्रह गरेको छ ।