Breaking
politics

त्रिविको शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणाली व्यवस्थित गर्न मन्त्रालयको छलफल, सेमेस्टर प्रणाली कार्यान्वयनमा जोड

9 days ago • B.S. 2083 Kartik 27politics

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताउनुभयो। त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने

TU2.jpg

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविको संस्थागत पहिचान स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठन प्रभावकारी बनाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको थियो।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको छ।

छलफलका क्रममा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो।

त्रिविका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले सम्बन्धन वितरणमा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, शैक्षिक सत्र व्यवस्थित गर्नुपर्ने र क्याम्पसलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने विषय पनि उठाइएको थियो। त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई समेत प्राथमिकताका साथ अघि बढाउनुपर्ने सल्लाहकार झाको भनाइ थियो।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताउनुभयो। त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो।

छलफलमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, विभिन्न सङ्कायका डिन तथा मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो।