Breaking
Society

गायक तथा संगीतकार विनोद बानियाँलाई ‘माधव वियोगी सम्मान–२०८३’

6 days ago • B.S. 2083 Kartik 30Society
Gayak samman.png

पोखरा । गायक तथा संगीतकार विनोद बानियाँलाई ‘माधव वियोगी सम्मान–२०८३’ प्रदान गरिएको छ । माधव वियोगी वाङ्मय प्रतिष्ठान, नेपालले आइतबार पोखरामा आयोजना गरेको समारोहमा बानियाँलाई नेपाली गीत तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहेका बानियाँलाई सम्मानपत्रसहित सम्मान गरिएको हो । नेपाली गीत तथा संगीत क्षेत्रमा निरन्तर साधना र सिर्जनामार्फत पुर्‍याएको योगदान तथा नयाँ पुस्ताका लागि प्रेरणादायी भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

छन्दनायक माधव वियोगीको ६६औँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा अन्य स्रष्टालाई पनि सम्मान गरिएको थियो । सो अवसरमा महाकाव्यकार रामनाथ अधिकारी, छन्दकवि छविलाल आचार्य र प्रतिभा तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न कृति लोकार्पणसमेत गरिएको थियो ।

साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नवराज बरालले अध्यक्षता गरेका थिए । कार्यक्रममा छन्दनायक माधव वियोगीको पनि विशेष उपस्थिति रहेको थियो ।

सम्मानपछि बानियाँले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको भन्दै प्रतिष्ठान र छनोट समितिप्रति आभार व्यक्त गरेका छन् ।

लामो समयदेखि गीतसंगीत क्षेत्रमा सक्रिय बानियाँ सैनिक आवासीय विद्यालय, फूलबारीमा संगीत शिक्षकका रूपमा समेत कार्यरत छन् । उनले करिब साढे दुई दशकअघि ‘माया देखायौं कति सजिलै’ गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका थिए ।

बानियाँले यसअघि राष्ट्रिय तथा क्षेत्रीयस्तरका विभिन्न सांगीतिक प्रतियोगिता र सम्मान प्राप्त गरिसकेका छन् । सन् २००० मा नारायण गोपाल स्मृति कोषद्वारा आयोजित गीत प्रतियोगितामा राष्ट्रियस्तरमा प्रथम भएका उनी सन् २००३ मा ‘वेस्ट सिंगर अफ द इयर’ घोषित भएका थिए ।

त्यस्तै, सन् २०२१ मा नेसनल गण्डकी म्युजिक अवार्डमा ‘पार्वती’ गीतबाट उत्कृष्ट आधुनिक गीत गायकको अवार्ड प्राप्त गरेका थिए । सन् २०२२ मा ‘भर्सटाइल सिंगर अफ द इयर’ अवार्डसमेत पाएका बानियाँ गत वर्ष प्रधानसेनापति निशान पदकबाट विभूषित भएका थिए ।

विशेषगरी खेलकुदसम्बन्धी गीतमा योगदान पुर्‍याएका बानियाँका गीत खेल मैदानमा समेत गुञ्जिने गरेका छन् ।