Breaking
Society

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति

6 days ago • B.S. 2083 Kartik 30Society
bani.jpg

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा डेढ महिनापछि डाँडाखर्क र रिठाखर्कको मुहानबाट खानेपानी आपूर्ति सुरु भएको छ । विपद्का कारण मुख्य पाइपलाइनमा क्षति पुगेपछि अवरुद्ध भएको खानेपानी सेवा अस्थायी तथा वैकल्पिक पाइपलाइन विस्तार गरेर पुनः सञ्चालन गरिएको हो ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कको मुहानबाट पानी ल्याउन थालेको हो । १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मत गरेपछि कात्तिक २७ गतेदेखि प्रतिसेकेन्ड ८ लिटरका दरले पानी आपूर्ति भइरहेको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए ।

खोरिया र खरेनी क्षेत्रमा पहिरो गएपछि पुरानो पाइपलाइनको मार्ग परिवर्तन गर्नुपरेको थियो । त्यसक्रममा डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको अध्यक्ष गिरीले बताए ।

यसअघि कोप्रे, अम्रेनी र राहुवडाका वैकल्पिक मुहानबाट पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । तर, वैकल्पिक मुहानसमेत सुक्न थालेपछि रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी ल्याउने व्यवस्था मिलाइएको हो ।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनीका वडा नम्बर २, ७ र ८ का करिब १ हजार २०० घरधुरीका २५ हजार नागरिकलाई खानेपानी वितरण हुँदै आएको छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि अहिले पनि टोल विभाजन गरी आलोपालो प्रणालीबाट वितरण भइरहेको छ ।

डाँडाखर्क र रिठाखर्कका मुहानबाट सामान्य अवस्थामा प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने गरेको थियो । तर, विपद्पछि पाइपलाइनमा क्षति पुगेकाले नियमित आपूर्ति प्रभावित भएको हो ।

खानेपानी आपूर्तिलाई दीर्घकालीन रूपमा सहज बनाउन संस्थाले तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको संस्थाका सचिव केशवप्रसाद रेग्मीले जानकारी दिए ।