तेस्रो भेट्रान फुटबलको क्वार्टरफाइनलमा पोखरा ११, धरान र सानो गौचरण

तेस्रो भेट्रान फुटबल प्रतियोगितामा पोखरा ११, धरान सिटी एफसी र सानो गौचरण नाइट किङ्स क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार समूह चरणका अन्तिम खेलमा जित निकाल्दै तीनै टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्। पूर्वखेलाडीहरूको संगठन फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा मंगलबारका खेल सकिएसँगै क्वार्टरफाइनल पुग्ने आठवटै टोलीको टुङ्गो लागेको छ।
मंगलबार पोखरा ११ ले इमाडोल युनिटी क्लबलाई ७–३ गोलले पराजित गर्यो। पोखराको जितमा पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले ह्याट्रिक गरे भने बालकृष्ण लामाले दुई तथा नरेन्द्र गुरुङ र सन्तोष केसीले एक–एक गोल गरे। लगातार दुई जितसहित ६ अंक जोडेको पोखरा समूह ‘एच’ को विजेता बन्यो।
त्यस्तै, धरान सिटी एफसीले हिलसाइड एफसीलाई ४–० गोलले पराजित गर्दै समूह ‘एफ’ बाट क्वार्टरफाइनलमा स्थान बनायो। धरानका रमेश राई, बुद्ध चेम्जोङ, जीवन लिम्बू र केन्द्र लिम्बूले एक–एक गोल गरे।
मंगलबारकै अर्को खेलमा सानो गौचरण नाइट किङ्स क्लबले ८०ज एम भेट्रान्सलाई ४–२ गोलले हरायो। सानो गौचरणका हरिहर थापाले ह्याट्रिक गरे भने सुन्दर नेपालले एक गोल थपे। समूह ‘जी’ मा लगातार दुई जित निकालेको सानो गौचरणले अन्तिम आठमा फ्रिडम एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि नै एनआरटी, त्रिभुवन आर्मी फुटबल क्लब, फ्रिडम एफसी, जोरपाटी एफसी र चाबहिल एफसीले क्वार्टरफाइनलमा स्थान बनाइसकेका थिए।
प्रतियोगिताको क्वार्टरफाइनलका सबै खेल बुधबार हुनेछन्। पोखरा ११ ले धरान सिटी एफसीसँग, सानो गौचरणले फ्रिडम एफसीसँग, जोरपाटीले चाबहिलसँग तथा एनआरटीले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछन्।
बेमौसमी वर्षाका कारण एन्फा मुख्यालयको मैदानमा सारिएको प्रतियोगिता मौसममा सुधार आएपछि बुधबारदेखि पुनः भक्तपुरस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको सेमिफाइनल बिहीबार र फाइनल शुक्रबार हुनेछ।