Breaking
Society

पोखरामा कात्तिक १८ देखि गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेला हुने

19 days ago • B.S. 2083 Kartik 17Society

महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष तिहारलाई लक्षित गरी पोखरामा दुई करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान

PKR fool mela.jpg

पोखरा । पोखरामा आगामी कात्तिक १८ देखि २३ गतेसम्म नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशस्तरीय एवं तेस्रो सयपत्री फूल मेला आयोजना हुने भएको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी स्थानीय फूलको प्रवर्द्धन, बजारीकरण र पुष्प व्यवसायको विकास गर्ने उद्देश्यले पोखरा रंगशालामा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको शान’ भन्ने नारासहित आयोजना हुने मेलामा ३५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीका अध्यक्ष श्रीराम सुवेदीले बताउनुभयो ।

मेलामा व्यावसायिक २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् । त्यहाँ विभिन्न जातका गोदावरी, सयपत्री, मखमली, फूलमाला तथा मौसमी फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलाको उद्घाटन कात्तिक १८ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाका अनुसार यस वर्ष महानगर क्षेत्रमा करिब दुई सय रोपनीमा व्यावसायिक फूलखेती गरिएको छ । महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष तिहारलाई लक्षित गरी पोखरामा दुई करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ ।

महानगर क्षेत्रमा १६५ जना किसान व्यावसायिक फूलखेतीमा संलग्न छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न महानगरले फूलखेती गर्ने किसानलाई बीउ तथा मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।

यद्यपि, पछिल्लो समय लगातार परेको वर्षाका कारण खुला ठाउँमा लगाइएको फूलखेती प्रभावित हुन सक्ने चिन्ता व्यवसायीमा देखिएको छ । फ्यानका पूर्वअध्यक्ष एवं गोल्डेन नर्सरीका सञ्चालक दयाकुमार द्वाका अनुसार यस वर्ष समग्रमा फूल उत्पादन राम्रो भए पनि वर्षाले उत्पादनमा केही कमी आउन सक्ने देखिएको छ ।

उहाँका अनुसार पोखराको फूल बजारमा करिब ७० प्रतिशत स्थानीय उत्पादनले हिस्सा ओगटेको छ भने बाँकी ३० प्रतिशत फूल अन्य जिल्ला तथा पालिकाबाट आउने गरेको छ । स्थानीय उत्पादन बढ्दै जाँदा पोखरा फूलमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको व्यवसायीको भनाइ छ ।