पोखरा महानगरको आन्तरिक राजस्व असुली कमजोर, लक्ष्यको ४० प्रतिशत मात्रै संकलन
महानगरको बजेटको आकार ७ देखि झन्डै ९ अर्ब रुपैयाँसम्म पुग्दा पनि आन्तरिक राजस्वबाट प्राप्त हुने रकम कुल बजेटको ११ देखि १५ प्रतिशत हाराहारीमा सीमित

पोखरा । पर्यटकीय राजधानी पोखरा महानगरपालिकाले आन्तरिक राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्ने समस्या वर्षैपिच्छे दोहोरिँदै गएको छ । बजेटको आकार ठूलो बनाउने तर त्यसअनुसार राजस्व संकलन गर्न नसक्दा महानगरको आर्थिक अवस्था संघ र प्रदेश सरकारको अनुदान तथा राजस्व बाँडफाँटमा निर्भर बन्दै गएको देखिएको छ ।
महानगरले आर्थिक वर्ष २०८२/८३ मा ३३ भन्दा बढी शीर्षकबाट ३ अर्ब २३ करोड ७२ लाख २० हजार रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । तर वर्षको अन्त्यसम्ममा १ अर्ब २७ करोड ६२ लाख ५० हजार रुपैयाँ मात्रै संकलन भयो । यो लक्ष्यको करिब ३९ प्रतिशत हो ।
महानगरले सम्पत्ति करबाट १८ करोड ५७ लाख ४८ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १३ करोड ७१ लाख ४७ हजार रुपैयाँ मात्रै संकलन भयो । पार्किङ शुल्कबाट २ करोड र कबाडी करबाट ५ करोड १८ लाख ५३ हजार ८ सय रुपैयाँ उठाउने लक्ष्य राखिए पनि यी शीर्षकमा राजस्व संकलन हुन सकेन । राजस्व असुली कमजोर हुँदा अघिल्लो आर्थिक वर्षको करिब ३५ करोड रुपैयाँ बराबरको दायित्व चालु आर्थिक वर्षमा सरेको आर्थिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगरको आन्तरिक आम्दानीको अवस्था पछिल्ला वर्षमा पनि सन्तोषजनक देखिँदैन । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा १ अर्ब १२ करोड ५९ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ लक्ष्य राखिए पनि १ अर्ब १२ करोड ८३ लाख ९४ हजार रुपैयाँ मात्रै उठेको थियो ।
महानगरको बजेटको आकार ७ देखि झन्डै ९ अर्ब रुपैयाँसम्म पुग्दा पनि आन्तरिक राजस्वबाट प्राप्त हुने रकम कुल बजेटको ११ देखि १५ प्रतिशत हाराहारीमा सीमित रहेको छ । बाँकी स्रोतका लागि महानगर संघ र प्रदेश सरकारको अनुदान तथा राजस्व बाँडफाँटमा निर्भर छ ।
यसैबीच, महानगरको बजेट संरचनामा पनि परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ५७ दशमलव ५६ प्रतिशत पुँजीगत अर्थात् विकास खर्चका लागि छुट्याइएको थियो । तर चालु आर्थिक वर्ष २०८३/८४ मा पुँजीगत बजेट घटेर ४७ दशमलव १४ प्रतिशतमा सीमित भएको छ । चालु खर्च भने बढेर कुल बजेटको ५२ दशमलव ८६ प्रतिशत पुगेको छ ।
राजस्व लक्ष्य पूरा हुन नसक्नुमा घर अभिलेखीकरण र पार्किङ ठेक्का नलाग्नु मुख्य कारण रहेको महानगरका पदाधिकारीको भनाइ छ । उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक मञ्जुदेवी गुरुङका अनुसार निर्माण सम्पन्न प्रमाणपत्र नलिएका घरको अभिलेखीकरणबाट ठूलो रकम संकलन गर्ने लक्ष्य राखिएको थियो । तर संघीय सरकारबाट प्रक्रिया अघि बढ्न नसकेपछि अपेक्षित राजस्व उठ्न सकेन ।
राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले भने महानगरको राजस्व क्रमशः वृद्धि भइरहेको दाबी गर्नुभएको छ । घर अभिलेखीकरणलाई अभियानका रूपमा अघि बढाउँदा नक्सापास शीर्षकमा बढी राजस्व अनुमान गरिएको र पार्किङ ठेक्काका लागि दुई पटक टेन्डर आह्वान गर्दा पनि आवेदन नपरेको उहाँले बताउनुभयो ।
महानगरले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पुनः २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर विगतका वर्षको असुली र राजस्वका स्रोतको अवस्थालाई हेर्दा यो लक्ष्य पूरा गर्न चुनौती देखिएको छ ।