Society

चार दिनपछि कुनौटामा खुल्यो बेनी–जोमसोम–कोरला सडकको नयाँ ट्र्याक

15 days ago • B.S. 2083 Aswin 22Society

सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन फिलिङ, लेभल मिलाउने र सडक फराकिलो पार्ने काम अझै बाँकी

bane jomsom.webp

कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक बगाएपछि अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा–२, कुनौटामा नयाँ ट्र्याक खोलिएको छ ।

चारवटा ठूला एक्साभेटर र टिपर परिचालन गरी दुवैतर्फबाट चार दिनसम्म लगातार काम गरेपछि नयाँ ट्र्याक खोल्न सफल भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा डोजर चालकहरूले काम गरेका थिए। अहिले कुनौटामा ठूला सवारीसाधन सञ्चालन गर्न सक्ने गरी सडक खुलाइएको छ  ।

तर सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन फिलिङ, लेभल मिलाउने र सडक फराकिलो पार्ने काम अझै बाँकी छ। आयोजनाका अनुसार त्यसका लागि थप एक–दुई दिन लाग्नेछ ।

पोखरेबगरदेखि बेगखोलासम्म पहिरो पन्छाउने काम जारी छ भने कोरलादेखि पोखरेबगर पुलसम्म सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

आयोजनाले आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडक नियमित रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।