Society

दसैँ मनाएर काठमाडौं फर्किने यात्रु बढे, प्रमुख सडकखण्डमा सवारी चाप

13 hours ago • B.S. 2083 Kartik 06Society

उपत्यकाका प्रमुख नाकामा दैनिक निजी कार, जीप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेको कार्यालयले जनाए

DAshai return 3.jpg

दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको जानकारी दिनुभयो।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको छ।

उपत्यकाका प्रमुख नाकामा दैनिक निजी कार, जीप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए।

दसैँको बिदा सकिँदै जाँदा उपत्यका फर्किने यात्रुको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले सडक व्यवस्थापन तथा निगरानीलाई तीव्र बनाएको छ।