गाजामा खाद्यान्नको अभाव र महँगी बढ्दै जाँदा सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको छ। विशेषगरी बालबालिकालाई पर्याप्त र पौष्टिक खाना उपलब्ध गराउन परिवारहरूलाई कठिन भइरहेको छ।
३० वर्षीया हुदा अबी लेलाले आफ्ना पाँच सन्तानलाई महिनौँदेखि बिहान चिया र पाउरोटी खुवाउँदै आएकी छन्। पश्चिमी गाजामा पाल टाँगेर बस्दै आएकी उनको परिवार आर्थिक सङ्कटमा छ। उनका श्रीमान् काममा जान नसक्दा परिवारको खर्च धान्न उनलाई थप कठिन भएको छ।
हुदाका सन्तान १८ महिनादेखि १० वर्षसम्मका छन्। खाद्यान्नको अभाव र मूल्यवृद्धिका कारण अण्डा, ताजा तरकारी, आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुसमेत किन्न कठिन भएको छ। उनकी कान्छी छोरी सल्मा कमजोर भएपछि चिकित्सकले पौष्टिक आहारमा ध्यान दिन सुझाव दिएका छन्।
गाजामा विस्थापित परिवारहरूको अवस्था पनि उस्तै छ। ४० वर्षीया राइडा रोबाहको नौ सदस्यीय परिवारलाई जीवनयापन गर्न कठिन भइरहेको छ। उनका बालबालिका सामुदायिक भान्छामा निर्भर छन्। पेट भर्न खाना पाए पनि पर्याप्त पौष्टिक आहारको अभाव रहेको विवरणमा उल्लेख छ।
यसैबीच, मानवीय सहायता तथा खाद्यान्न आपूर्तिमा अवरोध हुँदा सङ्कट थप गहिरिएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले पनि गाजामा खाद्यान्नको अभाव र कुपोषणको जोखिमबारे चिन्ता व्यक्त गर्दै आएको छ।
बालरोग विशेषज्ञ डा. मोहम्मद बि अलरेका अनुसार खाद्यान्नमा प्रतिबन्ध र अवरोध कायम रहे गाजामा कुपोषणको समस्या अझ बढ्न सक्छ। द्वन्द्व, विस्थापन, बेरोजगारी र महँगीका कारण गाजाका परिवारहरू आधारभूत आवश्यकतासमेत पूरा गर्न सङ्घर्ष गरिरहेका छन्।