दसैँको टीकाको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्दै
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार दसैँको टीकाको दिनदेखि नै पोखरा फर्किने क्रम सुरु

बडादसैँको टीकाको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन घर गएका सर्वसाधारण फर्किन थालेसँगै मुख्य बजार, सडक तथा पर्यटकीय क्षेत्रमा मानिसहरूको आवतजावत बढेको हो।
महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्वीचोक, न्युरोड, पार्दी र बिरौटालगायतका क्षेत्रमा चहलपहल बढ्न थालेको छ। यद्यपि, बजारमा मानिसहरूको उपस्थिति बढे पनि व्यापारिक गतिविधि भने अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन नसकेको व्यवसायीहरूले बताएका छन्।
दसैँको बिदा मनाउन पोखरा आउने आन्तरिक पर्यटकको आगमन बढेसँगै फेवाताल किनार, लेकसाइडलगायतका पर्यटकीय क्षेत्रमा पनि चहलपहल थपिएको छ। परिवार तथा साथीभाइसँग घुमफिर गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाँदा होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा समेत गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार दसैँको टीकाको दिनदेखि नै पोखरा फर्किने क्रम सुरु भएको हो। यात्रुहरू फर्किन थालेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पनि क्रमशः नियमित सञ्चालनमा आउन थालेका छन्।
यस वर्षको बडादसैँको अन्तिम दिन कात्तिक ८ गते कोजाग्रत पूर्णिमा परेको छ। उक्त दिन फेवातालस्थित तालबाराही मन्दिरमा पूजाआजा, दर्शन तथा जमरा सेलाउन जाने भक्तजनको भीड लाग्ने गर्दछ।
दसैँको बिदा सकिँदै जाँदा पोखरामा सर्वसाधारणको चहलपहल थप बढ्ने र त्यससँगै पर्यटन तथा व्यापार व्यवसायले गति लिने अपेक्षा व्यवसायीहरूले गरेका छन्।