जानकी टोलका ६० परिवारले करिब ३७० कठ्ठामा तरकारी खेती गर्दै आएका छन्। तीमध्ये २०० कठ्ठामा उत्पादनका लागि तयार रहेको चिचिण्डा, घिरौँला, काँक्रा र लौकामा वर्षा तथा हावाहुरीले ठूलो क्षति पुर्याएको अगुवा किसान गोपी यादवले जानकारी दिनुभयो।
यादवका अनुसार यसअघि जानकी टोलबाट दैनिक करिब १० क्विन्टल अग्र्यानिक तरकारी नेपालगन्जलगायतका बजारमा पठाइँदै आएको थियो। क्षतिपछि अहिले दैनिक दुईदेखि तीन क्विन्टल मात्र बजार पठाउन सकिएको छ।
अर्का किसान भर्री कुर्मीले आफ्नो खेतमा रहेको आधाभन्दा बढी तरकारी नष्ट भएपछि आम्दानीमा समेत ठूलो असर पर्ने बताउनुभयो। उहाँका अनुसार वर्षाका कारण आगामी सिजनका लागि ३० कठ्ठामा लगाइएका खुर्सानीका बिरुवा र १० कठ्ठामा लगाइएको टमाटरमा समेत क्षति पुगेको छ।
असामयिक वर्षा र हावाहुरीका कारण तरकारी खेतीमा ठूलो क्षति भएपछि किसानले क्षतिपूर्ति तथा कृषि बिमाको व्यवस्था गर्न माग गरेका छन्। युवा किसान सुरज यादवले नष्ट भएको तरकारीको क्षतिपूर्ति उपलब्ध गराउन र तरकारी खेतीलाई बिमाको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो।
किसान प्रल्हाद धोबी, सुन्दर लोनिया र किसान धोबीले पनि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट प्रभावित किसानलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्।
यसैबीच, कृषि ज्ञान केन्द्र बाँकेले जानकी टोलसँगै जिल्लाका विभिन्न स्थानमा तरकारी, धान र तोरी खेतीमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको जनाएको छ। केन्द्रले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले अविरल वर्षा र हावाहुरीबाट कृषिमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको बताउनुभयो।