Society

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

1 day ago • B.S. 2083 Kartik 02Society

एम्बुलेन्स जाँच गर्दा लुकाएर राखिएको अवस्थामा पाँच सय ७४ किलो आठ सय ७० ग्राम गाँजा भेटिएको प्रहरीले जनाए

sunsari.jpg

सुनसरी । सुनसरीमा बिरामी बोक्ने एम्बुलेन्सबाट पाँच सय ७४ किलो आठ सय ७० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा फेला पारेको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्ग हुँदै गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स फेला परेको थियो। एम्बुलेन्स जाँच गर्दा लुकाएर राखिएको अवस्थामा पाँच सय ७४ किलो आठ सय ७० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकरसमेत टाँसिएको थियो।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिए पनि चालक तथा तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्। एम्बुलेन्सको वास्तविक सञ्चालक, गाँजाको स्रोत र गन्तव्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सवारीसाधनमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई छल्ने प्रयास गरिएको हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टि भइसकेको छैन।