Society

गोरखाको आरुघाटमा बेलीब्रिज निर्माण सम्पन्न, पैदलयात्री र मोटरसाइकललाई आवागमन खुला

1 day ago • B.S. 2083 Kartik 02Society

पुल निर्माण सम्पन्न भएसँगै हाललाई पैदलयात्री र मोटरसाइकलका लागि आवागमन खुला गरिएको छ।

Aarughat bridge1.jpg

बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा आवागमन पुनः सहज हुने भएको छ। नेपाली सेनाले क्षतिग्रस्त पुलको विकल्पमा निर्माण गरेको बेलीब्रिज सोमबार सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको हो।

नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको २७ दशमलव ४३ मिटर लामो बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। पुल निर्माण सम्पन्न भएसँगै हाललाई पैदलयात्री र मोटरसाइकलका लागि आवागमन खुला गरिएको छ। ठूला सवारीसाधनको सञ्चालन भने सुरु भइसकेको छैन।गत असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पक्की पुल बगाएको थियो। पुल बगाएपछि नदी वारपार गर्न स्थानीयवासीलाई समस्या हुँदै आएको थियो। सडक सम्पर्क र दैनिक आवागमन प्रभावित भइरहेका बेला बेलीब्रिज निर्माणले वैकल्पिक मार्ग उपलब्ध गराएको छ।असोज ३१ गतेदेखि निर्माण सुरु गरिएको बेलीब्रिज नौ दिनमै सम्पन्न गरिएको हो। पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, सबै प्रकारका सवारीसाधन सञ्चालनका लागि भने थप व्यवस्था गर्नुपर्ने देखिएको छ।