Society

दसैंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

1 day ago • B.S. 2083 Kartik 02Society
nisulka sewa.png

दसैंको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।

दसैंका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिनेछ। अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार दसैंका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई कम गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।