World News

रुसको किभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण, एक जनाको मृत्यु, आठ घाइते

1 day ago • B.S. 2083 Kartik 02World News

युक्रेनी वायुसेनाका अनुसार रुसले सोमबार राति ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र २ सय ६९ ड्रोन प्रयोग गरी ठूलो स्तरमा हवाई आक्रमण

ukraine.png

रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार आक्रमणबाट राजधानीका तीन जिल्लामा भवन तथा पूर्वाधारमा क्षति पुगेको छ।

युक्रेनी वायुसेनाका अनुसार रुसले सोमबार राति ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र २ सय ६९ ड्रोन प्रयोग गरी ठूलो स्तरमा हवाई आक्रमण गरेको थियो। युक्रेनी वायु प्रतिरक्षा प्रणालीले २ सय ४३ ड्रोन र चार क्षेप्यास्त्र नष्ट गरेको वा निष्क्रिय पारेको वायुसेनाले जनाएको छ। आक्रमण २५ स्थानमा भएको र खसालिएका लक्ष्यका अवशेष आठ स्थानमा खसेको पनि वायुसेनाले जनाएको छ। किभ सहरको सैन्य प्रशासनका अनुसार राजधानीको देस्न्यान्स्की जिल्लामा भएको आक्रमणबाट एउटा निजी स्वास्थ्य संस्था र मेट्रो स्टेसनमा क्षति पुगेको छ।रुसको रक्षा मन्त्रालयले किभमा गरिएको आक्रमणमा डेटा सेन्टर तथा ड्रोनका पार्टपुर्जा उत्पादन गर्ने औद्योगिक प्रतिष्ठानलगायतका संरचनालाई निशाना बनाइएको जनाएको छ।

यो आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न प्रस्ताव गरेको पृष्ठभूमिमा भएको हो।