World News

मलेसियाबाट करिब १,५०० म्यान्माली नागरिक स्वदेश फर्काइए

18 days ago • B.S. 2083 Aswin 18World News

याङ्गुन, असोज १८ गते । मलेसियाले पहिलो चरणमा करिब ५ हजारलाई फर्काउने योजना

Malyasia.png

 मलेसियाबाट करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काइएको छ। म्यान्मामा जारी द्वन्द्व र मानवीय संकटका बीच उनीहरूको सुरक्षा सुनिश्चिततामाथि मानवअधिकार संस्थाले प्रश्न उठाएका छन्।

म्यान्माली सरकारी विवरणअनुसार तीनवटा नौसैनिक जहाजमार्फत १ हजार ४७६ जना नागरिक स्वदेश फर्काइएका हुन्। मलेसियाले पहिलो चरणमा करिब ५ हजार म्यान्माली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको जनाएको छ।

स्वदेश फर्काइएका आफन्तलाई लिन थानलिनस्थित म्यान्मार नौसेनाको आधार शिविरबाहिर बिहानैदेखि सयौँ परिवार पुगेका थिए। केहीले आफन्तको नाम र तस्बिर बोकेका थिए। यद्यपि, धेरै परिवारले तत्काल आफन्तसँग भेट गर्न पाएनन्।

नौसेनाका एक अधिकारीका अनुसार फर्काइएका व्यक्तिलाई याङ्गुन क्षेत्रका विभिन्न स्थानमा लगेर आफन्तसँग भेट गराइनेछ। एक महिलाले मलेसिया पुगेको तीन महिनापछि पक्राउ परेका आफ्ना १९ वर्षीय भाइको नाम फर्काइने सूचीमा भए पनि शिविरभित्र भेट्न नपाएको बताएकी छन्।

मलेसियाले स्वदेश फर्काइएका नागरिकहरू आफ्नै इच्छाले फर्कन सहमत भएको जनाएको छ। तर, संयुक्त राष्ट्रसङ्घ र मानवअधिकार संस्थाले उनीहरूसँग स्वदेश नफर्कने पर्याप्त विकल्प थियो कि थिएन भन्ने विषयमा प्रश्न उठाएका छन्।

सन् २०२१ मा म्यान्मामा सैन्य सत्ता परिवर्तन भएपछि जारी द्वन्द्वका कारण देशमा गम्भीर मानवीय संकट देखिएको छ। मानवअधिकारकर्मीहरूले विशेषगरी रोहिङ्ग्या समुदायका व्यक्ति पनि फर्काइएकामा चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले हिंसाबाट प्रभावित अवस्थामा रहेका मानिसलाई जबर्जस्ती स्वदेश फर्काउनु उपयुक्त नहुने बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।