पोखराको विन्ध्यवासिनी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइयो

पोखरा । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा बाजागाजा र भव्य शोभायात्रासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार पोखराको मानव अधिकार चोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म फूलपाती शोभायात्रा निकालिएको हो। शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका अधिकारी तथा जवान, जिल्ला सुरक्षा समितिका पदाधिकारी र सर्वसाधारणको सहभागिता रहेको थियो। बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत धार्मिक विधिअनुसार कास्कीको प्रमुख शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो। शोभायात्रा मन्दिर परिसरमा पुगेपछि कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै विधिपूर्वक पूजाआजा गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले जानकारी दिनुभयो। पूजाआजाका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। सो अवसरमा नवदुर्गा भगवतीप्रति श्रद्धा व्यक्त गर्दै चारवटै सुरक्षा निकायका तर्फबाट सलामीसमेत अर्पण गरिएको थियो। फूलपाती भित्र्याउने परम्पराले पोखराको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उल्लासमय बनाएको छ। बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीमा नवदुर्गाको पूजा गरी सुख, शान्ति, समृद्धि र विजयको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्की तथा सुरक्षा निकायले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोगको अपेक्षा गरेका छन्। साथै, जिल्लावासीलाई भयरहित वातावरणमा हर्षोल्लासपूर्वक दसैँ मनाउन आग्रह गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको छ।