politics

कांग्रेस सभापति गगन थापाले लिए शपथ, सम्हाले पदभार

3 days ago • B.S. 2083 Aswin 31politics

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम भने दसैँपछि आयोजना

gagan thapa 3.jpg

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।

बडादसैँको फूलपातीका अवसरमा शनिबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा थापाले शपथ लिएका हुन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले उनलाई शपथ गराएका थिए।

शपथ ग्रहणलगत्तै थापाले पार्टी केन्द्रीय कार्यालय पुगेर सभापतिको कार्यकक्षमा पदबहाली गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम भने दसैँपछि आयोजना गरिनेछ। अधिकांश निर्वाचित प्रतिनिधि दसैँ मनाउन गृहजिल्ला गइसकेकाले तत्काल सभापतिको मात्र शपथ गराइएको जनाइएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज २३ गते नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो। असोज २४ गते सम्पन्न सभापति पदको मतगणनामा थापा भारी मतका साथ सभापतिमा निर्वाचित भएका थिए। केन्द्रीय समितिका अन्य पदको मतगणना सानेपास्थित पार्टी कार्यालयमा गरिएको थियो। असोज ३० गते मधेस र बागमती प्रदेशको मतपरिणाम सार्वजनिक भएसँगै सम्पूर्ण मतगणना सकिएको थियो । निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३९२ मतदाताले मतदान गरेका थिए। कुल २२९ पदका लागि भएको प्रतिस्पर्धामा ७७ प्रकारका पद समावेश थिए भने प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए। महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । दसैँपछि बस्ने नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल गर्ने जनाइएको छ।