पाकिस्तानमा २० प्रहरी अपहरण
अपहरणमा परेका प्रहरीको सुरक्षित उद्धारका लागि प्रयास सुरु

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारी समूहले २० जना प्रहरीको अपहरण गरेको छ। प्रहरीहरू कलातबाट नोश्कीतर्फ जाँदै गर्दा बाटोमै उनीहरू सवार गाडी रोकेर अपहरण गरिएको बीबीसीले जनाएको छ। सरकारी अधिकारीहरूका अनुसार अपहरणमा परेका प्रहरी रुक्षान डिभिजनअन्तर्गतका वाशुक, चागाई, खारान र नोश्की जिल्लाका बासिन्दा हुन्। उनीहरू कलातस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षण लिइरहेका थिए। बिदामा घर फर्किने क्रममा उनीहरू निजी भ्यानमा यात्रा गरिरहेका थिए। एक वरिष्ठ सरकारी अधिकारीका अनुसार प्रहरी टोलीले कलात र नोश्कीबीचको छोटो मार्गका रूपमा रहेको सरबन्द सडक प्रयोग गरेको थियो। सोही क्रममा कलात जिल्लामा हतियारधारी समूहले उनीहरू सवार गाडी रोकेर प्रहरीलाई अपहरण गरेको हो। अधिकारीका अनुसार अपहरणकारीले प्रहरीहरूलाई सुरुमा मस्तुङ जिल्लाको सीमासम्म लगेका थिए। त्यसपछि उनीहरूलाई अज्ञात स्थानमा लगिएको बताइएको छ। भ्यानका चालक र अन्य दुईदेखि तीन यात्रुलाई भने केही दूरीमा छाडिएको थियो। अपहरणमा परेका प्रहरीको सुरक्षित उद्धारका लागि प्रयास सुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। तर, घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यसैबीच, बलुचिस्तानको किला अब्दुल्लाह जिल्लामा रहेको खाली प्रहरी चौकीमाथि पनि आक्रमण भएको छ। उक्त घटनाबारे थप विवरण सार्वजनिक भएको छैन।