चाडपर्वमा अनलाइन ठगी बढ्न सक्ने भन्दै राष्ट्र बैंकद्वारा सतर्क रहन आग्रह
अनलाइन ठगीबाट बच्न राष्ट्र बैंकले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड र डिजिटल वालेटको पिन कसैलाई पनि नदिन सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता चाडपर्वका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बैंकिङ कारोबारको विश्लेषणका क्रममा अनलाइन ठगीका घटनामा वृद्धि भएको पाइएको जनाउँदै ठगीबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे एड्भाइजरी जारी गरेको हो।
चाडपर्वका समयमा अनलाइन खाता खोल्ने, डिजिटल बैंकिङ, ई–कमर्स तथा डिजिटल भुक्तानीको प्रयोग बढ्ने भएकाले आपराधिक समूहले यही अवसरको फाइदा उठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ। यस्तो ठगीले सर्वसाधारणसँगै बैंक तथा वित्तीय प्रणालीलाई समेत जोखिममा पार्न सक्ने भन्दै बैंकले सचेत रहन आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार चाडपर्वका बेला नक्कली उपहार तथा चिट्ठाको प्रलोभन देखाउने, बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर पासवर्ड र ओटीपी चोर्ने, सामाजिक सञ्जालमा भारी छुटको विज्ञापन गरी अग्रिम भुक्तानी लिएर सामान नपठाउनेजस्ता ठगी हुन सक्छन्। अरूको नागरिकता, तस्बिर तथा नक्कली कागजात प्रयोग गरी फर्जी खाता सञ्चालन गर्ने जोखिमसमेत रहेको छ।
अनलाइन ठगीबाट बच्न राष्ट्र बैंकले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड र डिजिटल वालेटको पिन कसैलाई पनि नदिन सुझाव दिएको छ। सामाजिक सञ्जालमा आउने शंकास्पद लिंक नखोल्न, आकर्षक उपहार वा निःशुल्क सेवाको नाममा रकम माग्ने व्यक्तिप्रति सचेत रहन तथा अनलाइन खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना आधिकारिक भए–नभएको जाँच गर्न र अपरिचित अनलाइन विक्रेतालाई अग्रिम भुक्तानी गर्दा विशेष सावधानी अपनाउन राष्ट्र बैंकले सुझाएको छ।
बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई पनि ग्राहकको पहिचान प्रमाणीकरण, शंकास्पद कारोबारको निगरानी, सुरक्षा प्रणाली सुदृढीकरण तथा ग्राहक र कर्मचारीलाई सचेत गराउने व्यवस्था गर्न सुझाव दिइएको छ।
यदि अनलाइन ठगीमा परेमा वा आफ्नो परिचय दुरुपयोग भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक वा डिजिटल वालेटको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट सुरक्षित गर्न तथा नेपाल प्रहरी साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।