फिर्के खोलाको खोलाघर खाली गर्ने अभियान तीव्र ।
फिर्के खोलाको खोलाघर खाली गर्ने अभियान तीव्र, चार दिनमा २६ संरचना हटाइयो

पोखरा । timespati.com पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर अतिक्रमणमुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ। गत जेठ महिनादेखि सुरु गरिएको अभियानअन्तर्गत खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य अहिले चौथो दिनमा पुगेको छ।
पोखरा महानगरपालिकाका अनुसार संरचना धनीहरूलाई आफ्ना संरचना आफैँ खाली गर्न तथा हटाउन अन्तिम अवसर प्रदान गर्दा पनि नहटाइएका संरचना हटाउने कार्य भइरहेको छ। पछिल्लो अभियानका क्रममा हालसम्म १२ वटा स्थायी र १४ वटा अस्थायी गरी कुल २६ वटा संरचना हटाइसकिएको महानगरपालिकाले जनाएको छ।
खोलाघरभित्र रहेका बाँकी संरचनाहरू पनि क्रमशः हटाउँदै अभियानलाई गाईघाटसम्म पुर्याएर सम्पन्न गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ।
फिर्के खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, अतिक्रमण नियन्त्रण तथा पोखराको व्यवस्थित सहरी विकासका लागि यो अभियान महत्वपूर्ण रहेको महानगरपालिकाले जनाएको छ। अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न नगरवासी, सरोकारवाला तथा सम्बन्धित सबै पक्षसँग आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि महानगरपालिकाले आग्रह गरेको छ।
त्यसैगरी, अभियान सञ्चालनका क्रममा सहयोग, समन्वय र सहजीकरण गर्ने सबैप्रति महानगरपालिकाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।