पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
घाइतेहरूको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा

पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन्।
अस्पतालका प्रवक्ता मोहम्मद असीमका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। मृतक बालबालिकामध्ये छ जना बालिका रहेका छन्। मृतक तथा घाइते बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिएका छन्। घाइतेहरूको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको थियो। तीनतले उक्त विद्यालयमा नर्सरीदेखि कक्षा पाँचसम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए। घाइते शिक्षिका महविश जमानका अनुसार विद्यार्थीहरू कक्षाकोठामा रहेका बेला छत खसेको थियो। दुर्घटनापछि आफूलाई आकाशै खसेजस्तो लागेको र पछि अस्पतालमा होस खुलेको उनले बताएकी छन्। घटनालगत्तै स्थानीय बासिन्दा र उद्धारकर्मी घटनास्थल पुगेका थिए। भग्नावशेषमा फसेकाहरूको उद्धार गरिएको थियो। दुर्घटनापछि आफ्ना बालबालिकाको अवस्थाबारे जानकारी लिन अभिभावकको अस्पताल तथा घटनास्थलमा भीड लागेको थियो। पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। उनका अनुसार विद्यालय भवन संरचनात्मक रूपमा कमजोर रहेको पाइएको छ भने विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको छ। छत खस्नुको कारण पत्ता लगाउन प्रान्तीय सरकारले छानबिन समिति गठन गरेको छ।घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भए–नभएको सुनिश्चित गर्न आग्रह गरेका छन्।यसअघि जुलाईमा लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा चार विद्यार्थीको मृत्यु भएको थियो। पाकिस्तानमा निर्माण मापदण्डको कमजोर कार्यान्वयन, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र सुरक्षा नियमको बेवास्ताका कारण भवन भत्किने घटना दोहोरिने गरेका छन्।