Society

पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु, १९ जना घाइते

14 days ago • B.S. 2083 Aswin 23Society

मृत्यु हुनेमा चार जना विद्यार्थी र बसमा लिफ्ट लिएर सवार एक वृद्ध रहेका छन्।

1000109993.jpg

पोखरा महानगरपालिका–२८ कालिका ओख्लेभिरमा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेमा चार जना विद्यार्थी र बसमा लिफ्ट लिएर सवार एक वृद्ध रहेका छन्।

असोज २३ गते बिहान सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस बिहान ६ बजेर ३३ मिनेटमा सडकबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनाका बेला बसमा करिब २१ जना विद्यार्थी सवार रहेको जनाइएको छ।

दुर्घटनामा पोखरा–२८ माझठानाका १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल, १४ वर्षीया रुमिका नेपाली र १४ वर्षीया सुवेच्छा तिवारीको मृत्यु भएको छ। त्यसैगरी, उपचारका लागि भन्दै बसमा लिफ्ट लिएर सवार पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। ममता तिवारी, अशिम कँडेल र बाबुराम तिवारीलाई बिहान ८ बजेर ३५ मिनेटमा तथा रुमिका नेपाली र सुवेच्छा तिवारीलाई बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते १९ जनालाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पठाइएको थियो। गण्डकी मेडिकल कलेजमा पोखरा–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा विद्यार्थी अस्मी कँडेल, सोनिया तिवारी, अंकित पराजुली, स्नेहा तिवारी, आकृति बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, यमन मगर, स्नेहा खत्री र स्मृति खत्रीसहित बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङको उपचार भइरहेको छ। घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।