Amazing news

PCM मा 'नमुना पत्रकार सम्मेलन' सम्पन्न

8 days ago • B.S. 2083 Asar 29Amazing news

Timespati.com पोखरा

1000093579.jpg

पोखरा, २९ असार । timespaticom

पोखरा कलेज अफ म्यानेजमेन्टमा (PCM) बीबीए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार एक नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। कलेजको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा दुईवटा सेक्सनका कुल ६१ जना विद्यार्थीहरूले ६ वटा समूहमा विभाजित भएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए।

​विद्यार्थीहरूको समूहले समसामयिक र व्यावहारिक विषयहरूमा आधारित भई नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए। जसमा फ्लाई दुबईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको, र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको जस्ता विषयहरू समेटिएका थिए।

​यसैगरी, पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पोरेसनको विद्युतीय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेको विषयवस्तुमा समेत विद्यार्थीहरूले विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यास गरेका थिए।

​बीबीए अन्तिम सेमेस्टरमा 'मिडिया र जनसम्पर्क' (Media and Public Relations) विषय अध्ययनरत विद्यार्थीहरूले यस कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने व्यावहारिक सीप सिकेको कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले बताउनुभयो।

​त्यस्तै, यस किसिमको अभ्यासले विद्यार्थीहरूलाई कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति (Press Release) तयार पार्न सक्षम बनाएको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो।

​उक्त कार्यक्रममा पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका वरिष्ठ पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुतिकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो। पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा रचनात्मक पृष्ठपोषण (Feedback) पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी कुसुम के.सी.ले बताउनुभयो।

​विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा उच्च शिक्षा प्रदान गर्दै आएको यस कलेजमा हाल दिवा तथा बिहानी सत्रमा ६ सयभन्दा बढी विद्यार्थीहरू बीबीए, बीबीए फाइनान्स र बीसीआईएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन्।