Article

टाइम्स पाटी डट कमको शुभारम्भ

21 days ago • B.S. 2083 Asar 16

टाइम्स मिडिया हाउस प्रा.लि.को प्रस्तुति समाचार पोर्टल टाइम्स पाटी डट कम (TimesPati.com) को औपचारिक शुभारम्भ सम्पन्न अहिलेको सूचना प्रवाहको युगमा भाइरल समाचारभन्दा भेरिफाइड (प्रमाणित) समाचारलाई प्राथमिकता दिन प्रमुख अतिथि प्रेस रजिस्ट्रार बिमला भण्डारीको आग्रह

pr photo studio-9773.JPG

पोखरा। टाइम्स मिडिया हाउस प्रा.लि.को प्रस्तुति समाचार पोर्टल टाइम्स पाटी डट कम (TimesPati.com) को औपचारिक शुभारम्भ सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस रजिस्ट्रार बिमला भण्डारीले अहिलेको सूचना प्रवाहको युगमा भाइरल समाचारभन्दा भेरिफाइड (प्रमाणित) समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमहरूलाई आग्रह गर्नुभयो। उहाँले सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारिताले मात्रै समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

विशिष्ट अतिथि हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले ‘टाइम्स’ नाम आफैँमा विश्वव्यापी पहिचान बोकेको नाम भएकाले टाइम्स पाटी डट कम पनि भविष्यमा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै टाइम्स पाटी डट कमले पर्यटन क्षेत्रको विकासमा प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।ग्रीन डेभलपमेन्ट बैंकका सहायक महाप्रबन्धक संयुक्त ढाख्वाले सत्य, तथ्य र विश्वसनीय समाचार प्रवाह गर्न यस्तो पोर्टलको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा टाइम्स मिडिया हाउस प्रा.लि.ले काठमाडौंस्थित जी टिभी (GTV) सँग गण्डकी प्रदेश ब्युरोका रूपमा सहकार्य गरी गण्डकी प्रदेशका समाचार तथा कार्यक्रमहरू प्रसारण गर्ने सहमति भएको विषय पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा टाइम्सका निर्देशक शिवराम तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे कम्पनीका सीईओ सुशील नेपालीले प्रकाश पार्नुभयो। कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रेम सुवेदीले धन्यवाद ज्ञापन गर्नुभयो।

समारोहमा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।