Breaking
Society

गण्डक सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न विधामा १२ जना सम्मानित

12 days ago • B.S. 2083 Kartik 15Society
WhatsApp Image 2026-11-01 at 6.10.31 PM.jpg

गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरामा आयोजित सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, भावी योजना तथा सहकारीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल गरिएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ध्रुवराज पनेरु प्रमुख अतिथि तथा निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकाल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सभामा कोषाध्यक्ष मातृका सुवेदीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट मधु पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, सहकारीका सात सिद्धान्तबारे जानकारीमूलक प्रस्तुति पनि दिइएको थियो । साधारणसभाको अवसरमा संस्थाले शैक्षिक उपलब्धि, बचत तथा कर्जा कारोबार र ज्येष्ठ नागरिक सम्मानअन्तर्गत विभिन्न विधामा १२ जनालाई सम्मान गरेको छ। एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थी, नियमित तथा अन्य बचतकर्ता, कर्जा कारोबार गर्ने सदस्य र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष दिपेन्द्र पौडेलले शेयर सदस्यहरू नै सहकारीको वास्तविक मेरुदण्ड भएको उल्लेख गर्दै संस्थालाई आर्थिक रूपमा सबल बनाउन नियमित बचत, समयमै कर्जा भुक्तानी र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, संस्थापक अध्यक्ष ध्रुवराज पौडेल, निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकाल र सल्लाहकार सदस्य डिल्लीराम पनेरूले सहकारीको संस्थागत विकास, पारदर्शिता र आर्थिक अनुशासनमा जोड दिनुभयो । साधारणसभाले सदस्यहरूको हित संरक्षण, प्रभावकारी कर्जा असुली र सहकारीको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।